काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ। बुधबार बसेको बैठक केही बेरअघि सकिएको हो।
बैठकमा एमसीसी टेबल गर्ने विषयले प्रवेश पाएको थियो। कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले एमसीसीलाई फरकफरक पार्टीको सरकार हुँदा सबैले कुनै न कुनै रुपमा निरन्तरता दिएको स्मरण गराएका थिए। 'हामीले यसलाई स्वीकार गरेकै हो,' मन्त्री बडूको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'यसलाई अब धेरै प्रतिष्ठाको विषय नबनाऔँ। संसद्बाटै टुंग्याऔँ।'
माओवादी र नेकपा एकीकृत समाजवादीले भने बडूको प्रस्तावलाई अस्वीकार गरेका थिए। त्यसका लागि उनीहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी राखेको सदन अवरोधलाई कारणको रुपमा प्रस्तुत गरेका थिए।
संसद्मा छलफल गर्ने अवस्था नबनुञ्जेल एमसीसी सदनमा टेबल गर्न नहुने उनीहरुको धारणा थियो। प्रमुख प्रतिपक्षी दलले अवरोध गरिरहेकाले टेबल भए पनि छलफल गर्ने वातावरण नभएको उनीहरुको भनाइ थियो।
एमसीसी सामान्य विषय नभएको भन्दै यति महत्त्वपूर्ण विषयमा प्रतिपक्षीलाई पनि सहमतिमा ल्याएर सदनमा छलफल हुने वातावरण बनेपछि मात्रै टेबल गर्नुपर्ने उनीहरुको धारणा थियो।
आजको कार्यव्यवस्था परामर्श समितिको बैठकलाई एमालेले बहिस्कार गरेको थियो। जसपा पनि सहभागी थिएन।
आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिएको भए पनि अन्ततः नहुने भएको छ। प्रतिनिधि सभाको कार्यसूचीमा पनि सो विषय समेटिएको छैन। भोलि सत्ता गठबन्धनको बैठक बस्दैछ। सोही बैठकले यस सम्बन्धनमा निर्णयले लिने आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।