काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता आज अघि नबढाउने सहमति भएको छ।
बुधबार दिउँसो बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनका दुई शीर्ष नेताको बैठकले यस्तो सहमति गरेको हो।
दुई नेताबीच बिहीबार दिउँसो तीन बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बोलाउने सहमति भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। त्यसभन्दा पहिले एमसीसी सम्झौता टेबल हुने सम्भावना टरेको छ।
बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारीमा प्रधानमन्त्री देउवा अघि बढेका थिए। तर, बुधबार बिहाान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले ‘एमसीसी जबर्जस्ती टेबल’ गरिए सरकारबाट बाहिरिने निर्णय गरेको थियो। त्यो निर्णय सुनाउन प्रचण्ड बालुवाटार पुगेका थिए।
प्रतिनिधि सभा बैठकका कार्यसूची टुंगो लगाउन सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठक भने जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।