काठमाडौं– यथास्थितिमा एमसीसी पारित गर्न नसकिने निर्णय गरेको सत्ता गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्काल एमसीसी अघि नबढाउने विषयमा प्रधानमन्त्रीलाई मनाउने प्रयास गरेका छन्।
पार्टीको संसदीय दलको बैठक सकेर सोझै बालुवाटार पुगेका दाहालले प्रधानमन्त्रीसँग अहिले छलफल गरिरहेका छन्। उनले प्रधानमन्त्रीसँगको छलफलमा अहिले कुनै पनि हालतमा एमसीसी अघि नबढाउन आग्रह गर्ने बताइएको छ। ‘पार्टीले कुनै पनि हालतमा अहिलेको अवस्थामा एमसीसी पास गर्न नसकिने निष्कर्ष निकालेको छ,’ नेकपा माओवादी केन्द्रका सांसद अञ्जना विशंखेले भनिन्, ‘प्रधानमन्त्रीसँग छलफल गर्नका लागि नै पार्टी अध्यक्ष बालुवाटार जानुभएको हो।’
उनका अनुसार बैठकमा अध्यक्ष दाहालले जबरजस्ती गरिए पार्टी सरकारबाट बाहिरिने प्रष्ट धारणा राखेका थिए। ‘राष्ट्रिय सहमति नजुटिकनै जबरजस्ती अघि बढ्ने कुरा हुँदैन। त्यसो गरिए सरकारमा बस्ने कुरै आउँदैन,’ दाहालको भनाइ उद्धृत गर्दै उनले भनिन्। प्रधानमन्त्रीले गठबन्धनमा सहमति नगरिकन जबरजस्ती गरेर अघि बढे आजै सरकारबाट बाहिरिने अध्यक्ष दाहालको भनाइ रहेको थियो।
प्रतिपक्षी दलको सदन अवरोध जारी रहेकै अवस्था र सत्ता पक्षमा रहेका दलहरुबीच पनि सहमति नगरी टेबुल गर्दा त्यसले बिग्रह ल्याउने दाहालले प्रष्ट पारेका थिए।
अर्का एक सांसदका अनुसार बैठकमा अध्यक्ष दाहालले कुनै पनि हालतमा अहिलेको स्थितिमा एमसीसी पास गर्न नसकिने र प्रधानमन्त्रीले जबरजस्ती अघि बढ्न खोजे गठबन्धन पनि नरहने र सरकारबाट बाहिरिने प्रष्ट पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।