काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्त्वपूर्ण काम गरिरहेको बताएका छन्।
मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति, विसंगतिहरुलाई अन्त्य गर्नका लागि सामाजिक रुपान्तरणको अभियान सञ्चालन गरिरहेको बताएका हुन्।
उनले समाजमा पछि पारिएका महिला, दलितलगायतका उत्पीडितहरुलाई मूल प्रवाहमा ल्याउनका लागि प्रदेश सरकारले काम गरेको बताए। यस अवधिसम्म बेटी पढाऔँ, बेटी बचाऔँ अभियान, छोरी शिक्षा बीमाको कार्यक्रम, साइकल वितरण तथा लोकसेवा कक्षा सञ्चालन लगायतका महत्त्वपूर्ण काम गरिएको उनको भनाइ छ।
मुख्यमन्त्री राउतले प्रदेश सरकार सम्हालेको पहिलो आर्थिक वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण गराउनु र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि भ्रमण गराउनु सरकारको उपलब्धि भएको उल्लेख गरे।
मुख्यमन्त्री राउतले विभिन्न मन्त्रालयमार्फत् ल्याइएका नीति, कार्यक्रम र योजनाहरुलाई सरकारले क्रमशः कार्यान्वयन गर्दै लगेको बताए।
मधेश प्रदेशका जनताको चाहना र आकांक्षालाई सम्बोधन गर्न सरकारले निरन्तर प्रयास गर्दै आएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।