काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
कांग्रेस नेता डा सुभासचन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले यसअघि कांग्रेसको केन्द्रीय समितिमा समेत उजुरी दिएका थिए। तर, निर्वाचन समितिले यादवको उजुरी खारेज गर्दै चौधरीलाई केन्द्रीय सदस्यको मान्यता दिएको थियो।
रिटकर्ता सुभासचन्द्र यादव कांग्रेसकी पूर्वकोषाध्यक्ष सीतादेवी यादवका पुत्र हुन्। उनले चौधरी कांग्रेसको विधान विपरीत केन्द्रीय सदस्य भएको जिकिर गरेका छन्।
१० वर्ष क्रियाशील सदस्य नभएको व्यक्तिले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन नपाउने विधानको व्यवस्था रहेको उनले उल्लेख गरेका छन्। गत मंसिर अन्तिम साता भएको कांग्रेसको १४औं महाधिवेशनमा चौधरी मधेशी कोटाबाट निर्वाचित भएका थिए।
चौधरी निर्वाचित हुँदा उनीपछिको मत ल्याएका यादव केन्द्रीय सदस्य हुन बाट वञ्चित भएका थिए।
यादवले कांग्रेस विधानमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना मधेशी केन्द्रीय सदस्य बन्न पाउने व्यवस्था रहेको निवेदनमा उल्लेख गरेका छन्।
चौधरी २०७४ सालमा नेकपा एमालेबाट कांग्रेसमा प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।