काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा हानी हुन्छ भनेर कांग्रेसले एमसीसीका बारेमा फरक कुरा नगर्ने बताएका छन्। मंगलबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै महामन्त्री थापाले सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा आफूहरुले नगर्ने बताए।
उनले एमसीसीका कारण चुनावमा हानी पुग्ने केही सांसदहरुले बताएको भए पनि आफ्नो कर्तव्यबाट कांग्रेस च्यूत नहुने बताए।
'सरकारमा बस्दै गर्दा एउटा, प्रतिपक्षमा बस्दै गर्दा अर्को पोजिसन हामीले पनि लिने हो भने हामी अरु राजनीतिक दलभन्दा फरक हुँदैनौं' थापाले भने, 'केही साथीहरुले निर्वाचनमा लाभ हानीको कुरा गर्नुभयो निर्वाचनमा हानी होला भनेर हामी आफ्नो कर्तव्यबाट च्यूत हुनु हुँदैन।'
थापाले एमाले सत्तामा हुँदा पास गर्नुपर्छ भनेको र अहिले आएर एमसीसी पास गर्ने षड्यन्त्र हुन लाग्यो भनेको भन्दै उदेक लागेको बताए। ' केपी ओलीले संसदमा पेस गरेको विधेयकलाई पारित गर्नुपरो भनेर भनिरहेका छौं, तर सोही दलका प्रमुख सचेतक विशाल भट्टराइले एमसीसी पास गर्ने षडयन्त्र हुँदैछ भन्नुभयो यो उदेक लागेको छ।'
भोलिको संसद बैठकमा एमसीसी पेस हुने सम्भावना रहेको उनले बताए।
सभामुख अग्निप्रसाद सापकोटासँग प्रधानमन्त्री देउवाले कुराकानी गरेको बताउँदै थापाले भोलि संसदमा एमसीसी टेबल हुने सम्भावना रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।