काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन गर्न नेपाली नेताहरुलाई कुनै धम्की नदिएको बताएका छन्।
सोमबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी अनुमोदन गर्नेबारे नेपाललाई आफ्नो प्रतिबद्धताको पालना गर्न मात्रै आग्रह गरेको बताए।
‘हामीले नेपाली नेताहरूलाई धम्की दिएका छैनौं,’ राजदूत बेरीले भने,‘हामी नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह गरिरहेका छौं। एमसीसीलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रको हैसियतमा नेपालले मात्रै निर्णय गर्ने हो।’
उनले यो सम्झौता नेपाल-अमेरिकाबीचको सात दशक लामो द्विपक्षीय सम्बन्धभन्दा माथि रहेको समेत स्पष्ट पारे। ‘यो वर्ष नेपाल-अमेरिकाबीचको सम्बन्धको ७५औं वर्ष हो। यी ७५ वर्षमा नेपालले अतुलनीय र अतुलनीय परिवर्तनहरू देखेको छ। यी परिवर्तनहरूमा हामी नेपालको साथमा उभिएका छौं र देश विकास, विपद् प्रतिकार्य र पूर्वतयारी, स्वास्थ्य र शिक्षालगायतमा सहयोग गरेका छौं,’उनले भने,‘त्यसैले अमेरिका र नेपालबीचको सम्बन्ध यो सम्झौताभन्दा माथि छ।’
एमसीसी सम्झौताको विषयलाई लिएर अहिले राष्ट्रिय राजनीतिमात्र होइन, सत्तागठबन्धन समेत विभाजित अवस्थामा छ। एमसीसी सम्झौता अनुमोदन गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी मुख्यालयलाई पठाएको पत्र सार्वजनिक भएलगत्तै एमसीसी मुख्यालयले सम्झौता अनुमोदन गर्न फागुन १६ सम्मको समयसीमा रहेको सम्झाएको पत्र पनि सार्वजनिक भएको थियो।
त्यसपछि अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै टेलिफोन गरेका थिए। त्यसक्रममा उनले एमसीसी सम्झौता अनुमोदन नभए नेपाल र अमेरिकाबीचको सम्बन्धमा पुनरावलोकन हुनसक्ने बताएको भन्दै ओली र प्रचण्डनिकट नेताहरुले सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।