फाइल तस्बिर।
काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता सदनमा टेबल गर्ने संकेत गरेका छन्। उनले आफू अम्पायरको भूमिका निर्वाह गर्न तयार रहेको बताए। साथै, उनले स्वतन्त्र रुपमा संसद् सञ्चालन गर्नका लागि सबै पार्टीसँग पहल गर्न तयार रहेको समेत बताएका छन्।
संसद्को जारी अवरोध, एमसीसी सम्झौता र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग लगायतका विषयमा सोमबार छलफल गर्न आफूले डाकेको 'सर्वदलीय बैठक' पछि बोल्दै उनले आफ्नो भूमिकालाई निर्वाह गर्न तयार रहेको बताएका हुन्।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले असोज ३ गतेदेखि जारी अवरोध कायमै राखेको छ। जसका कारण सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी भएन। एमाले उपस्थित नभएपनि आफू छलफलको पहललाई निरन्तर राख्न तयार रहेको सभामुख सापकोटाले बताए।
राष्ट्रिय महत्त्वका विषयमा आमसहमति बनाउन सबैले पहल गर्नुपर्ने भन्दै उनले एमसीसीको विषयमा पनि दलहरुका बीचमा सहमति आवश्यक हुने बताए।
‘आजको वैठकले संसद् बैठक सञ्चालन गर्न सबैलाई गम्भीर बनाएको छ’, सभामुख सापकोटाले भने ‘नगरिकता विधेयक, नागरिक उड्यन र अन्य धेरै महत्त्वपूर्ण विधेयक पारित हुन नसकेको अवस्थामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सदनको अवरोध खोलन यो छलफललाई जारी राख्नुपर्ने महशुस भएको छ।’
बैठकपछि पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले सर्वदलीय बैठकमा सबले आ–आफ्ना धारणा राखेको र त्यहाँबाट आएको सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको उनले बताए।
‘मैले सबको कुरा गम्भीरतापूर्वक लिएको छु’, सभामुख सापकोटाले भने, ‘मैले स्वतन्त्र रुपमा निर्णय गर्दै संसद् सञ्चालन हुनुपर्छ भन्ने महसुस गरेको छु। मैले अम्पाएरको भूमिका निर्वाह गर्ने कुरामा र यहाँ आएको सुझावलाई मैले सकारात्मक रुमपा लिएको छु।’
उनले बैठकमा एमसीसीका विषयमा पनि छलफल भएको बताए। उनले आफूले संसद् सञ्चालन हुनुपर्ने कुरालाई विशेष रुपमा जोड दिएको बताए।
'एमसीसीको विषयमा छलफल भएको छ। उहाँहरुले आ-आफ्नो धारणा राख्नुभएको छ। मैले सबैको धारणालाई तटस्थ, निष्पक्ष र स्वतन्त्रतापूर्वक सोचेको छु। मैले सबैका कुरा गम्भीरतापूर्वक लिएको छु', उनले भने, 'किनभने अहिले वर्तमानमा म सभामुखको हैसियतले मैले स्वतन्त्र र निष्पक्ष ढंगले निर्णय गर्नुपर्छ। मैले विशेष रुपमा जोड दिएको कुराचाहिँ संसद् सुचारु हुनुपर्छ। त्यसपछि मेरो अन्तिममा कुरा के हुन्छ भने म त अम्पायर न हो। निर्णायक भूमिका दलहरुको हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।