काठमाडौं- नेकपा एमालेले सर्वोच्च अदालतका चारजना न्यायाधीशविरुद्ध 'काउन्टर' महाभियोग प्रस्ताव दर्ता नगर्ने संकेत गरेको छ।
सोमबार बानेश्वरस्थित संसद भवनमा जारी एमाले संसदीय दलको बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेतृत्वले सोच विचार गरेर निर्णय गर्ने बताए। अध्यक्षले यस्तो बताएसँगै एमाले सांसदहरुले चार जना न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता नगर्ने संकेतको रुपमा बुझेको जनाए।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि संसद पुनःस्थापनाको फैसला गर्ने दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको समाचारहरु बाहिरिएका थिए।
तर जारी संसदीय दलको बैठकमा ओलीले पार्टीले उत्तेजनामा नआइ सोचविचार गरेर निर्णय गर्ने बताएका हुन्।
'हामीले उत्तेजनामा आएर निर्णय गर्न जरुरी छैन। नेतृत्वले सोचविचार गरेर निर्णय गर्छ' ओलीको भनाइ उदृत गर्दै एक सांसदले भने। जारी बैठकमा १० सांसदले आफ्नो धारणा राखेका छन्।
सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि बसेको एमालेको सचिवालय बैठकले महाभियोगको प्रतिवाद गर्ने र त्यसअनुसार नै निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको थियो।
एमाले अध्यक्ष ओलीले गत जेठ ७ गते गरेको संसद विघटनलाई २८ असारमा प्रधानन्यायाधीश राणा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले असंवैधानिक ठहर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।