काठमाडौं– गायक प्रमोद खरेल तथा बाल गायिका रुक्साना लिम्बुको गीत ‘नोगेन’मा आफ्नो संगीत चोरी गरेको आरोप लगाएका संगीतकार बसन्त सापकोटाले माफी मागेका छन्। उनले नोगेन गीतका संगीतकार महेश खड्कालाई सम्बोधन गर्दै आफूबाट गल्ती भएको भन्दै माफी मागेका हुन्।
सामाजिक सञ्जालमार्फत संगीतकार सापकोटाले मानिसबाट गल्ती हुने भएकाले आफूबाट पनि असमझदारीका कारण यस्तै हुन पुगेको बताएका छन्।
‘मानिसबाट गल्ती हुन्छ,’ सापकोटाले फेसबुकमा लेखेका छन्, ‘कुराहरु जति धेरै बढाउँदै लग्यो त्यति नै बिग्रिंदै जाने हुनाले मबाट केही गल्ती भएको छ भने सबैसँग माफी माग्दछु । सुषुप्त मनभित्र कहिलेकाहीँ राम्रो धुनहरु बस्न जान्छन्।’
सापकोटाले केही दिनअघि आफ्नो गीत ‘सागरसरी चोखो माया’ गीतबाट संगीत चोरेर नोगेन गीतमा प्रयोग गरिएको आरोप महेश खड्कालाई लगाएका थिए। लगत्तै खड्काले पत्रकार सम्मेलन गरेर आरोप प्रमाणित गर्न नसकेमा कानुनी कारबाहीमा जाने बताएका थिए।
अब भने विवाद समाधानका लागि आफूले माफी मागेको सापकोटाको तर्क छ। उनले लेखेका छन्, ‘ कहिलेकाहीँ एकैखालका शब्दहरु आउँदा धुनपनि मिल्न जान्छ। यही कुरालाई हृदयङ्गम गर्दै आदरणीय दाजु महेश खड्कासँग आगामी दिनमा केही असमझदारी देखा परे मिलेर समाधान गर्नेगरी मेरो तर्फबाट पर्न गएको असुविधाप्रति माफी चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।