काठमाडौं– कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पारित गर्न सबै सांसदहरुसँग आग्रह गरेको छ।
आइतबार संसद् सचिवालयमा राणाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि एक विज्ञप्ति जारी गर्दै बारले महाअभियोग पारित गराउन सकारात्मक पहल गर्न सबै राजनीतिक दल र सांसदलाई आह्वान गरेको हो।
बारले राणाको राजीनामाको माग गर्दै गत कात्तिकदेखि 'न्यायपालिका शुद्धीकरण'को आन्दोलन गर्दै आएको छ। राणाले पदबाट राजीनामा नदिने बताएपछि बारले सबै राजनीतिक दलहरुलाई राणाविरुद्ध महाअभियोग दर्ता गर्न भन्दै ध्यानाकर्षण पत्र समेत बुझाएको थियो।
आइतबार सत्तारुढ गठबन्धनका ३ दल (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी)का ९८ जना सांसदहरुले राणाविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्।
महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश राणा स्वत: निलम्बित भएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।