काठमाडौं- आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर निर्वाचन आयोगले कार्यालय समय बढाएको छ। आयोगद्वारा आइतबार जारी विज्ञप्ति अनुसार अब कार्यालय समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म कायम भएको छ।
'निर्वाचन आयोग र अन्तरगत कार्यालयहरुको कार्यालय समय विहान ९ बजेदेखि साँझ ६ बजेसम्म कायम गरिएको छ भने विदाका दिनमा समेत नियमित कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको छ', विज्ञप्तिमा भनिएको छ।
निर्वाचन व्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको पनि आयोगले जनाएको छ। स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचन आयोगका लागि करिब १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिए अनुसार सरकारसँग बजेट प्रस्ताव सहित बजेट स्वीकृतीको प्रकृयामा रहेको र सो अगावै निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता लिई प्रतिस्पर्धात्मक प्रक्रियाबाट बोलपत्र आह्वान गर्नेगरी मापदण्ड र स्पेसिफिकेशन स्वीकृत गरिएको विज्ञप्तिमा भनिएको छ।
सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने गरी स्थानीय तहको मिति तोकेको छ। माघ २४ गते तोकिएको सो मिति अनुसार आयोगलाई ९५ दिनमात्रै अवधि प्राप्त भएकाले आयोगले कामको गति बढाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।