काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले ललिता निवास प्रकरण, स्थानीय तहको निर्वाचन र एमालेले दायर गरेको १४ सांसद विरुद्धको मुद्दा प्रभावित गर्न प्रधानन्यायाधीविरुद्ध महाअभियोग ल्याइएको बताएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्ध संसद् सचिवालयमा सत्ता गठबन्धनका सांसदले महाअभियोग दर्ता गरेपछि प्रतिक्रिया दिँदै नेम्वाङले यस्तो बताएका हुन्। सत्ता गठबन्धनको सांसद्हरु मात्रै भएर महाअभियोग संसद्बाट पारित हुन नसक्ने अवस्थामा प्रतिपक्षी दल एमालेलाई खबर नगरी दर्ता हुनु यिनै मुद्दालाई सरकारले प्रभावित पार्न खोजेको रुपमा एमालेले बुझेको उनले बताए।
एमालेले कारबाही गरेका १४ सांसद (एकीकृत समाजवादीका सांसद)हरुका विरुद्धको मुद्दाले बल्ल–बल्ल पालो पाउने दिन नै महाअभियोग दर्ता हुनु संयोग मात्रै नभएको नेम्वाङको भनाइ छ।
वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनविरुद्धको मुद्दा दरपिठ भएप पनि फेरि त्यसविरुद्ध सत्ता गठबन्धनले मुद्दा हाल्ने तयारी गरेको उनको बुझाइ छ। त्यसले निर्वाचन तोकिएकै समयमा नहुने उनले बताए।
उनले भने, ‘हामी सबैको दबाबले बाध्य भएर सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छ। त्यो निर्वाचन समेलाई लिएर सर्वोच्च अदालतमा विषयले प्रवेश गर्ने स्थिति देखिएको छ। किनभने दरपिठलाई लिएर मुद्दा दर्ता गर्छौं भनेर उहाँहरुले पहिल्यै भन्नुभएको छ।’
यसैगरी ललिता निवाससम्बन्धी मुद्दाले पनि गठबन्धनलाई तर्साएको एमालेको बुझाइ छ। त्यसलाई प्रभावित पार्ने सत्ता गठबन्धनको रणनीति यो महाअभियोग रहेको नेम्वाङ बताउँछन्।
‘ललिता निवास सम्बन्धी केस पनि झुन्डिएको अवस्था छ। यस्ता थुप्रै मुद्दा सर्वोच्च अदालतमा छन्। यस्तो बेला न्यायाधीशमाथि महाअभियोगको प्रस्ताव हठात् ल्याइएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।