काठमाडौं– निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ। आयोग पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो।
आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ डेट’को अन्योल हटेका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।विगतमा सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई नै आयोगले ‘कट अफ डेट’ तय गर्दै आएको थियो ।
मन्त्रिपरिषद्ले माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको थियो। सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली संकलन नगर्न सबै जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइसकेको छ।
ऐनले कहिलेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्ति मतदान गर्न पाउने मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नै दिएको छ । मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ६ ले निर्वाचन आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मतदाता हुने व्यवस्था उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।