काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् बैठक सार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
शनिबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्ड र नेपालले फागुन २ गतेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका हुन्। उनीहरूले संसद् बैठक फागुन ४ गतेका लागि बोलाउन भनेका छन्।
२ गतेको बैठकमा उपस्थित हुन नसक्ने भन्दै प्रमुख प्रतिपक्ष एमालेले बैठक सार्न माग गरेकाले बैठक ४ गते तय गर्न प्रधानमन्त्री देउवासँग उनीहरूले आग्रह गरेका प्रचण्डकी प्रमुख स्वकीय सचिव गंगा दाहालले जनाएकी छन्।
यसअघि माघ २६ गतेका लागि बोलाइएको बैठक सभामुख अग्निप्रासद सापकोटाले सूचना टाँस गरेर फागुन २ गतेसम्मका लागि स्थगित गरेका थिए।
सत्ता गठबन्धनका दलहरुबीच एमसीसीका विषयमा सहमित नहुँदा संसद् बैठक सर्दै आएको छ। संसद्मा एमालेको अवरोध पनि कायमै छ।
एमालेले फागुन १ र २ गते पार्टीको प्रदेशस्तरीय भेला भएकाले संसद् बैठक सार्न मौखिक आग्रह गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।