चितवन– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन्। शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताएका हुन्।
अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसीसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उनको भनाइ छ। 'देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ', उनले भने।
एमसीसीका विषयमा अन्योल खडा नगरी संसद्बाट पास गर्नुपर्ने उनको तर्क छ। उनले थपे, 'एमसीसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता रहेको छ। नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो।'
नेता महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताए। 'सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्मा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन', उनले भने। संसद्मा छलफल भए यस विषयमा निकास निस्कने उनको भनाइ छ ।
फरक प्रसंगमा बोल्दै उनले कांग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने बताए। पहिला कोभिडका कारण रोकिएका अधिवेशन अब भने तोकिएको मितिमै हुने उनले बताए।
स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उहाँले यस विषयमा अहिले बहस गर्ने समय नभएको जवाफ दिए। दलहरुले आ–आफ्नो आवश्यकतानुसार छलफल गरेरमात्रै गठबन्धनका विषयमा टुंगो लाग्ने उनको भनाइ छ। फाइदाका आधारमा गठबन्धनको निर्णय हुने महतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।