काठमाडौं– 'सुर्के थैली खै', 'कुटुमा कुटु' जस्ता चर्चित गीतका सर्जक राजनराज शिवाकोटीको नयाँ गीत आएको छ- मायाले मेरो ज्यान खायो। शिवाकोटीको 'टाइपका गीत'मा अभ्यस्तहरुका लागि यो गीत उति खराब छैन।
शिवाकोटीसँगै मिलन नेवारले गाएको गीत सुन्नेहरुका लागि पनि ठिकै छ। पल शाह जस्ता चर्चित कलाकारलाई भिडियोमा देखाएकाले हेर्नेहरुका लागि पनि रमाइलो लाग्न सक्छ।
गीत संगीत सुन्ने र रमाइलो गर्ने मात्र होइन, त्यसको परख गर्ने पनि हुन्छन्। त्यस्ता पारखीको कानमा भने यो गीतले काँडाजस्तै बिझाउँछ। भिडियोले आँखामा खुर्सानीले जस्तो पिरपिर्याउँछ। किनभने 'मायाले ज्यान खायो' भन्ने गीतबाट शिवकोटीले देउडाको सातो खाएका छन्।
देउडा पारखीलाई यसले मर्माहत मात्रै बनाएको छैन, झुक्याएको पनि छ। राजनीतिमा धेरै प्रयोग हुने एउटा भनाइ छ नि- खशीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने। उनको यो कर्म यही भनाइसँग निकट देखिन्छ।
गीतको सुरुवात संवादबाट हुन्छ। जहाँ कलाकार पल शाह भन्छन्- 'अब रातपनि परिगयो। सिलगढीमाथि झुमाको गाउँतिर रात काट्नुपर्ला। फेरि आज शैलेश्वरी (डोटी) मेलाको दिन पनि हो। त्यहीँ देउडा खेल्दै रमाइलो गरौंला।'
त्यसपछि भिडियोले आँखा पिर्याउन थाल्छ। जहाँ देउडा खेल्न डोटीको बैकान (पुरुष) होइन, पूर्वी हिमालको शेर्पा आइपुग्छ। यतिसम्म ठीकै छ, शेर्पाले देउडा खेल्न हुन्न भन्ने कहाँ लेख्या छ र?
त्यससपछि देउडा भनिएको गीत सुरु हुन्छ। जहाँ भनिन्छ:
मिलन नेवार: कर्नाली तर्या हुन्, साइँत पर्या हुन्, सुदूरका यी ठाँवैमा
शिवाकोटी: नाँच्न्याँ हो, गाउँन्याँ हो, रम्माइलो गर्न्याँ हो, ऐ झुमाचम्पा तम्रा गाँवैमा
देउडाप्रेमी भुक्लुक्कै पर्ने यहीँनेर हो। यो कसरी देउडा भयो? देउडाको निश्चित छन्द हुन्छ भन्नेसम्म ज्ञान यो तहको संगीतकारमा नहुनु उनकै दुर्भाग्य हो। उनको ज्ञानको सीमिततामाथि दया गरेर छाडिदिन मिल्छ। जब त्यही गीतको अर्थ लगाउन थालिन्छ, तब सुदूर र कर्णालीका खशभाषीको कन्सिरी तात्छ।
कसैले सुदूर वा कर्णाली घर बताउनेवित्तिकैं 'खाया हुन्, भया हुन्, गया हुन्' बोलेर खिसी गर्ने प्रचलन आम छ। त्यही जमातको सदस्य हुन उनलाई किन मन लागेको हो?
उनले प्रयोग गरेका छन्– 'कर्नाली तर्या हुन्'। यसको अर्थ उनले 'कर्नाली तरेर आएको' भन्ने बुझाउन खोजेका होलान्। बुझिन्छ के भने 'कर्नाली तरे होलान्'। 'साइँतै पर्या हुन्' उनले साइँत जुरेको छ भन्ने अर्थमा ल्याएका होलान् । तर यसको ठ्याक्कै बुझिने कुनै अर्थ निस्किँदैन।
'नाँच्न्याँ हो, गाउँन्याँ हो, रम्माइलो गर्न्याँ हो' भन्ने ठाउँमा आइपुग्दा त खशभाषीमाथि शिवाकोटीले खिसीटिउरी गर्न खोजेको महसुस हुन्छ। त्यसपछि उनले शिशिर योगीले गाएको 'झमतारा झमझम'को मेलोडी मिसमास पारे। त्यसपछि बन्यो शिवाकोटीवाला देउडागीत!
गायक संगीतकार राजनराज शिवाकोटीलाई नपुग्दो केही थिएन। भ्युज कमाउने कुलतमा फसिहाल्ने कलाकार जस्ता पनि लाग्दैनन्। उनले यसअघिका गीतमा आफ्नो क्षेत्रका मौलिक शब्द गीतमा घुसाएर नेपाली गीतसंगीत, साहित्य र भाषामा योगदान नै गरेका हुन्।
अहिले संगीतमा नयाँपन खोज्ने होडबाजी चलेको छ। अन्य सबै भाषा र क्षेत्रका गीत छिचोलेर दर्शकस्रोता वाक्कप्याक्क बनाइसकेका छन् छिपछिपै सर्जकले। देउडा अझ पनि केही हदसम्म मौलिकतासहित अघि बढिरहेकै छ।
मौलिक गीतसंगीतमा रुचि हुनेहरु देउडाको त्यही मौलिकताबाट प्रभावित छन्। शिवाकोटी पनि त्यससबाट प्रभावित हुन सक्छन्। उनलाई सुदूरपश्चिमको देउडा गीतको प्रेमले तानेर त्यहाँ पुर्याएको हुनुपर्छ। कसैको प्रेममा परेपछि फकाउनु पो पर्छ, हातपात गर्न हुन्छ त?
सुदूरपश्चिमका कलाकारको विरोध
'ओइ काजल', 'भनसाली' जस्ता देउडा गीतबाट गैर देउडा क्षेत्रमा समेत चर्चित गायक चक्र बमले 'अनुमानका भरमा खसभाषा समेटेर देउडा गीत बनाउने पछिल्लो प्रचलन' भन्दै यसको विरोध गरेका छन्।
यस्तै गीतलाई लक्ष्य गर्दै उनी फेसबुकमा लेख्छन्, 'लगभग आधा नेपालमा प्रचलित खसभाषा र देउडाभित्र रहेर पूर्व पश्चिमका जति पनि अग्रज, अनुज, चर्चित ससङ्गीतकार, गीतकारले काम गर्नु भनेको समग्र सुदूर तथा मध्य पश्चिमको भाषा संस्कृतिको लागि राम्रो हो। व्यक्तिगत रुपमा पनि म देउडा गीतको लिस्ट बढ्यो भनेर खुसी नै हुन्छु, तर देउडा गीत सङ्गीतको लोभले गीतमा अशुद्ध भाषा प्रयोग गरिएका थुप्रै गीत अलि अगाडिदेखि पछिल्लो समयसम्म आइरहेका छन्, …यसले देउडा संस्कृतिमाथि अन्याय गरिरहेको छ।'
आफूहरुले मौलिक सङ्गीतलाई अर्को दर्शक स्रोतासम्म पुर्यािउन नसकेको हुनसक्ने बताउँदै शिवाकोटीलगायतलाई संकेत गर्दै बम भन्छन्, 'यसमा तपाईंहरू जत्तिको दिग्गज सर्जकहरूको खाँचो पनि छ, तर नबुझी अनुमानका भरमा यसरी अशुद्ध लाइन प्रयोग नगर्नुहोस्।'
भाषा, गीत र संगीतको शुद्ध प्रयोग नगरेर भ्रम फैलाउने कुरा सह्य नहुने उनी बताउँछन्। उनको भनाइमा सुदूरपश्चिममा लोकप्रिय 'अछामी बड्डो'का रुपमा परिचित गायक लालबहादुर धामी सही थप्छन्। उनी यस्ता कर्मको सामूहिक रुपमा विरोध गर्नुपर्ने बताउँछन्।
सुदूरपश्चिमकै अर्का कलाकार राजेन्द्र भट्टले बमको फेसबूक स्टाटसलाई समर्थन गर्दै सिवाकोटीको सिर्जनाको आलोचना गरेका छन्। उनी भन्छन्, 'एक त नजानेर नबुझेर गतल प्रयोग गर्ने अनि आफैं ठूला कुरा गर्ने यो चाहिँ अस्वीकार्य कुरो हो। हाम्रो भाषा प्रयोग गरुन् सबैले। खुसीको कुरा हो, तर गलत प्रयोग सह्य हुँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।