काठमाडौं– बालसंसार डट कमले बुवाको मुख हेर्ने दिनलाई लक्षित गरी तयार पारिएको बालगीत आइतबार सार्वजनिक गरेको छ।
यो गीत विशेषगरी बाबाप्रति कृतज्ञता र स्नेह प्रकट गर्ने उद्देश्यले सिर्जना गरिएको हाे।
यस बालगीतको रचना ललिता ‘दोषी’ले गरेकी हुन् भने स्वर अनमोल सेवाले दिएका छन्। कक्षा सातमा अध्ययनरत अनमाेलले आफूलाई बालगायकका रूपमा स्थापित गर्दै आएका छन्। संगीतकार बद्री सेवाद्वारा सिर्जित धुनमा गीतलाई आधुनिक बालसंगीतको स्वाद दिने गरी प्रस्तुत गरिएको छ। एरेन्ज तथा मिक्सिङ राम कार्कीले गरेका छन्। रेकर्डिङ थापागाउँस्थित ‘द पिक रेकर्डिङ स्टुडियो’मा गरिएको हो।
गीतको विशेषता भनेकै यसले राष्ट्रिय स्तरमै मान्यता पाएको पृष्ठभूमि हो। रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी बालगीत प्रतियोगिता २०८१ मा यो गीतले प्रथम स्थान हासिल गरेको थियो। प्रतियोगितामा विजयी भएपछि यसलाई अझ परिष्कृत गर्दै बालसंसार डट कममार्फत सार्वजनिक गरिएको हो। रचनाकार 'दाेषी'को भनाइमा, गीतले केवल बालबालिकामाझ मात्र होइन, अभिभावकमाझ पनि बाबाप्रतिको माया र सम्मानलाई उजागर गर्नेछ।
बुवाको मुख हेर्ने दिनलाई नेपाली समाजमा विशेष भावनासहित मनाइन्छ। यस अवसरमा बाबाप्रति समर्पित भक्ति, श्रद्धा र सम्झनाका कार्यक्रम हुने गर्छन्। बालसंसार डट कमले सार्वजनिक गरेको यो गीत त्यही अवसरलाई अझ अर्थपूर्ण बनाउन सहयोगी बन्ने विश्वास गरिएको छ। गीतका शब्द र धुन दुवै बुबाको भूमिका, माया र परिश्रमलाई उजागर गर्ने खालका छन्।
बालसंसारले यसअघि पनि बालबालिकाका लागि विविध बालगीत र सिर्जनाहरू सार्वजनिक गर्दै आएको छ। याे गीत बालसंसारकाे युट्युब र फेसबुक च्यानलमा हेर्न र सुन्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।