फाइल तस्बिर
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलित नेपाल बार एसोसिएसनले आइतबारदेखि भौतिक रूपमा नै आन्दोलनका कार्यक्रम गर्ने भएको छ।
कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण दर बढेका कारण भर्चुअल माध्यमबाट विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेको बारले आइतबारदेखि सर्वोच्च अदालतमा भौतिक रुपमा नै उपस्थित भएर आन्दोलनलाई निरन्तरता दिने भएको हो।
बारका महासचिव लिलामणि पौडेलले फागुन १ गते आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा नै निरन्तर जारी रहने बताए। आन्दोलनमा उपत्यकामा रहेका कानून व्यवसायीहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ।
न्यायपालिकाको सुद्धिकरण र सुदृढीकरणका लागि १०५ दिनदेखि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन तथा प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर राणाको राजीनामा माग गरि निरन्तर आन्दोलन गर्दै आइरहेको छ।
सर्वोच्च प्राङ्गणमा निरन्तर चलिरहेको विरोध कार्यक्रम कोभिड–१९ को संक्रमण तथा अदालतमा समेत सेवा संकुचन गरिएको र नेपाल सरकारबाट जारी विभिन्न मापदण्ड, निर्देशन समेतका कारण भर्चुयल माध्यमबाट सञ्चालन हुँदै आएकोमा हाल संक्रमणको अवस्था सामान्य हुँदै गएको र नेपाल सरकारले पनि पूर्व मापदण्ड, निर्देशन समेत संशोधन गरेको कारण भौतिक रुपमा आन्दोलन अघि बढाउने निर्णय गरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।