काठमाडौं– राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिह्न नदिने कानुनी व्यवस्थाका विरुद्ध संघर्ष गर्न २३ वटा दलहरूले संघर्ष समिति गठन गरेका छन्।
शुक्रबार विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पूरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिह्न प्रयोग नदिने कानुनी व्यवस्था घोर अन्यायपूर्ण भएको ठहर गरेको छ।
बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिह्न स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा यसअघि भएका सामूहिक संघर्ष तथा पहलकदमीहरूको समेत अपनत्व लिँदै चुनाव चिह्न संघर्ष समिति गठन गरि दबाबमूलक कार्यक्रमहरू आयोजना गर्ने निर्णय पनि गरेको छ।
राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका दलहरुको आजको बैठकमा अनुपस्थित अन्य दलहरूलाई पनि चुनाव चिह्न संघर्ष समितिमा सहभागी हुन भनिएको छ। आमूल परिवर्तन मसिहा पार्टी, एकीकृत शक्ति नेपाल, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल, नेकपा (समाजवादी), नेपाल आमा पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), नेपाल सुशासन पार्टी, नेपाली काँग्रेस (वीपी), नेपाली जनता दल, बहुजन समाज पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, समाजवादी पार्टी नेपाल, सर्वदलीय सङ्घीय परिषद्, सामाजिक लोकतान्त्रिक पार्टीको बैठकले संघर्ष समिति गठन गरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरद राज पाठकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।