काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै चुनाव लड्दा अत्यधिक बहुमत आउने दाबी गरेका छन्। कांग्रेसका नेता कार्यकर्तालाई रुखमै भोट हाल्न दिइनु पर्ने उनको भनाइ थियो।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शुक्रबार नेता कोइरालले गठबन्धन नगरी पार्टी भित्र एकता कायम गरे स्थानीय तहमा अत्यधिक सिट जित्न सकिने दाबी गरेका हुन्।
'राजनीतिक आदर्श विपरित अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरुको न्यायोचित व्यबस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ,' कोइरालले बैठकमा भने, 'यही जितको बलले प्रदेश र संघीय निर्वाचनमा समेत कांग्रेसले एक्लै बहुमत प्राप्त गर्न सक्छ।'
गाउँदेखि सहरसम्म सबै स्थानीय निकायमा लोकप्रिय, क्षमतावान, इमान्दार र पार्टीमा योगदान पुर्याएकाहरुलाई बिना भेदभाव, न्यायोचित र पूर्वाग्रहरहित तरिकाले उम्मेदवार चयन गर्नुपर्ने उनले बताए।
'यसो गर्न सकेमात्र हाम्रो जीत सुनिश्चित हुनेछ । र, मैले बिगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात रुख छापमै मतदान गर्न पाउनु पर्छ' उनले भने।
महाधिवेशन सके लगत्तै चुनावी वर्षमा प्रवेश गर्न लागेका भन्दै उनले पार्टी भित्रको एकता, सद्भाव र नेता कार्यकर्ताको न्यायोचित ब्यबस्थापन नै कांग्रेसको शक्ति भएको बताए।
पार्टी भित्रका सानातिना घरेलु समस्या, आपसी रिस राग, मनमुटाव र असन्तुष्टि भन्दा माथी उठेर एकढिक्का हुँदै चुनावी अभियानमा लाग्नुको बिकल्प नभएको बताउँदै उनले भने, 'सभापतिज्युले केन्द्रदेखी वडासम्मका साथीहरुलाई एकढिक्का बनाएर पार्टी सञ्चालन गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु र यसमा मेरो पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्दछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।