काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी मुख्यालयलाई लेखेको पत्रका विषयमा टिप्पणी गरेका छन्।
उनले प्रधानमन्त्रीले पत्र लेख्ने कुरा राष्ट्रियताको हिसाबले गलत काम भएको बताए। ‘प्रधानमन्त्रीको हिसाबले एउटा संस्थालाई पत्र लेख्ने कुरा आफैंमा अपमानजनक हो। अध्यक्षको हैसियतले लेख्ने हो भने पार्टीका अध्यक्षलाई लेख्नुपर्थ्यो। दुई अध्यक्षले लेख्ने कुरा अरु अध्यक्षलाई थाहा छ कि छैन,’ उनले भने, ‘देश गम्भीर खेलवाड, खेलाचीको सिकार भइरहेको छ।’
उनले एमसीसीका बारेमा सत्ता गठबन्धनका नेताहरुले दिएको विरोधाभाष अभिव्यक्तिले मुलुकलाई भू–राजनीतिक द्वन्द्वमा फसाउन भूमिका खेलेको आरोप लगाए।
‘अमेरिकी अधिकारीलाई दुई जना नेताले गोप्य पत्र लेख्छन्। जनतालाई भ्रममा पार्छ। न्यूनतम साझा कार्यक्रममा समावेश गरेनन् त्यसैबेला मैले उनीहरुलाई प्रश्न गरेँ। कुनै जवाफ छैन। गोप्य हिसाबले अमेरिकासँग अर्कै खालको कुरा गर्छन् पार्टीभित्र अर्कै कुरा गर्छन् जनतासँग अर्कै,’ उनले भने, ‘दुईजिब्रे चरित्रले गर्दा राष्ट्रिय हितलाई गम्भीर संकटमा धकेल्ने काम गरिरहेको छ। फेब्रुअरी २८ मा सकिन्छ भनेर एमसीसीले लेखेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।