काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले संसद् भेन्टिलेटरमा पुर्याएको आरोप लगाएका छन्। चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम उद्घाटनमा बोल्दै संसद भत्ता पचाउनका लागि मात्रै अस्तित्वमा रहेको बताएका हुन्।
उनले भनेका छन्, 'व्यवस्थापिका संसद् तानाशाही अधिनायकवादी पेलाइका साथ चलिरहेको छ। भत्ता पचाउने हिसाबले संसद् अस्तित्वमा छ।'
संसद् बैठक सूचना टाँस्दै पर सारिने काम भइरहेको बताउँदै निष्प्रभावी बनाएर कोमामा पुर्याएको बताए। 'संसद भेन्टिलेटरमा छ, ज्यूँदो छैन भने ज्यूँदै छ, तर काम गरिरहेको छैन,' उनको टिप्पणी छ।
एमाले संसद्मा सहभागी हुन चाहे पनि सभामुख अग्निप्रसाद सापकोटाले वातावरण नबनाएको आरोप लगाए। उनले भने, 'प्रभावकारी ढंगले काम गर्ने अवसर सरकारले हामीलाई दिएको छैन। सभामुख हाम्रो पार्टी फोड्ने षड्यन्त्रमा सहभागी हुन्छन्। प्रतिपक्षको मोर्चाबन्दीमा लाग्छन् र हाम्रोविरुद्ध मुद्दा लड्न अदालत पुग्छन्। पदीय मर्यादा ख्याल गर्दैनन्।'
उनले संसद्को बहुमूल्य समय खेर गएको बताउँदै अग्रगमनको प्रतिनिधि सभा निष्क्रिय रहेको, ताजा जनादेश जाने कुरा प्रतिगमनका रुपमा टिप्पणी गरिएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।