काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते ठूलो राजनीतिक फैसलाको प्रारम्भ हुने बताएका छन्। एमालेको प्रदेशस्तरीय चुनाव केन्द्रित प्रशिक्षणा कार्यक्रमको भर्चुअल उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, 'हामी वैशाख ३० को तयारीमा जुटेका छौं। ठूलो राजनीतिक फैसलाको प्रारम्भ वैशाख ३० ले गर्नेछ । तर यो नै अन्तिम फैसला होइन। जनादेश र परमादेशबीचको फैसलाको सुरुवात हो।'
सार्वभौमिकता सम्पन्न जनता र त्यसको उपहास गरेर पार्टी फोड्नेहरुको अवस्था देखिने पनि बताए। माओवादी केन्द्र र एकीकृत समाजवादीलाई लक्ष्य गर्दै उनले भने, 'जनादेशलाई लत्याएर, पार्टी फोडेर, सरकार ढालेर प्रतिक्रियावादीको सेवामा समर्पित हुन जाने हुनेहरुलाई जनताले सही ठाउँमा पुर्याउनेछन्।'
उनले प्रगतिशीलता बामपन्थ र देशभक्तको खोल ओढेका तत्त्व र तिनका मतियारलाई जनमतको माध्यमबाट पराजित गर्ने दाबी गरे। 'सर्वोच्च न्यायाधीश जनताबाट न्याय प्राप्त गर्ने अभियान वैशाख ३० मा सुरु हुनेछ,' उनले थपे, 'राष्ट्रिय राजनीति सकारात्मक दिशामा लैजाने प्रयास त्यहीँबाट गर्नेछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।