काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आगामी बैशाख ३० गते तोकिएको निर्वाचन नगराउने अझै षड्यन्त्र हुन सक्ने बताएका छन्। सातै प्रदेशमा आयोजित प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
‘निर्वाचन पर सार्न र असंवैधानिक तवरबाट स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउने प्रयास भए। अहिले पनि त्यस्तो हुन सक्छ, ’उनले भने, ‘तपाईं हामी सबै सजग भएर अघि बढ्नुपर्ने जरुरी देखिन्छ।’
अझै पनि सजगताका साथ निर्वाचन निश्चित रुपमा गराउने र तोकिएको अनुसार नै निर्वाचन गराउने विषयमा सजगताका साथ लाग्नु जरुरी रहेको उनको भनाइ छ। ‘निर्वाचन नगराउने षड्यन्त्र हुन सक्छन् त्यस भन्दा पछि पनि कोही अदालत जाने कोही निर्वाचन हुनै नसक्ने भन्ने गर्न सक्छन्,’उनले भने,‘निर्वाचन प्रतिगामी हो भन्न सक्छन्। एकै चरणमा निर्वाचन गर्ने भनेर घोषणा गरिसकेपछि पनि गठबन्धनबाट त्यस्ता कुरा आइरहेका छन्। अहिले पनि प्रयासहरु जारी छन्।’
निर्वाचन तोकिएको समयमा स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष गराउने विषयमा सजग हुनुपर्छ। परमादेशवादीहरुका दुस्प्रयासहरु असफल पार्ने तर्फ केन्द्रित हुनुपर्ने ओलीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।