काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि शुक्रबार पनि बस्ने भएको छ। समिति गठन भएपछि आज पहिलोपटक बसेको बैठक भोलि पनि निरन्तर जारी रहने प्रवक्ता प्रकाशसरण महतले जानकारी दिए।
बैठकमा नेताहरूको बोल्ने क्रम नसकिएकाले भोलि पुनः बस्ने तय भएको हो। आज बोल्ने सदस्यहरुले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए।
‘नेताहरुको बोल्ने क्रम सकिएको छैन। भोलि पनि केही नेताहरुले आफ्नो धारणा राख्नुहुन्छ,’ प्रवक्ता महतले भने, ‘भोलि नै बैठक सक्ने तयारी छ।’
आजको बैठकमा अधिवेशन बाँकी रहेका १६ जिल्ला र केही क्षेत्रीय समितिको अधिवेशनका बारेमा पनि छलफल भएको छ।
‘अधिवेशन बाँकी रहेका ठाउँमा छिटो भन्दा छिटो अधिवेशन सक्नुपर्ने भन्ने नै छ,’ प्रवक्ता महतले थपे, ‘निर्वाचन समितिले काम गरिरहेको छ। स्थानी यतहको निर्वाचन अघि नै सम्पन्न भए सहज हुन्छ।’
बैठकमा सत्ता गठबन्धनलाई निरन्तरता दिने वा के गर्ने भन्ने विषयमा अहिले प्रवेश नै नभएको उनले जानकारी दिए। आज १२ जनाभन्दा धेरै नेताले बोलेका छन्। हाल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ३७ सदस्ययीय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।