काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले पार्टी परित्यागको घोषणा गरेका पूर्व अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताएका छन्।
बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै राणाले पार्टी परित्याग गर्ने थापाको निर्णयबाट दु:ख लागेको बताए।
आफूले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको राणाको भनाइ छ। थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको पनि राणाले बताए।
‘यो अनपेक्षित घटना हो। उहाँको धेरै गुनासोहरु सार्वजनिक भइसकेको थियो। तर, हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौं भनेर मैले अनुरोध गरेको थिएँ,' राणाले भने, 'त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ। अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो।'
राणाले अब हुने तीनै तहको निर्वाचनमा पार्टी गम्भीर भएर लाग्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।