काठमाडौं– गायिका रचना रिमालले विपिन किरणको शब्दमा रहेको गीत ‘न बिर्सेँ तिमीलाई’लाई पुनः गायन गरेपछि अञ्जु पन्तले प्रश्न उठाइन्।
आफ्नो स्वरमा पहिले नै रेकर्ड भएको गीत आफूलाई नसोधी रिरेकर्ड गरिएको विषयमा उनको आपत्ति थियो। सँगै उनले यो गीत आफ्नो स्वरमा पुनः गाउने तयारी भइरहेको पनि बताएकी थिइन्।
यसबीच नयाँ गीत (रचनाले गाएको भर्जन)मा अञ्जुको पनि नाम समावेश भएपछि भने अञ्जुले खुसी व्यक्त गरेकी छिन्। अञ्जुले विवाद झिकेपछि युट्युबमा सार्वजनिक भएको रचनाले गाएको गीतको विवरणमा अञ्जु र जगदिश समालको पनि नाम समावेश गरिएको छ।
‘बिं.स. २०६४ मा रञ्जना म्युजिक इन्डष्ट्रिजबाट बजारमा आएको गीतकार विपिन किरणको गीति एल्बम ‘किरण’ भित्र समावेश यो गजल हामीले पुनः रेकर्ड गरेर लिएर आएका छौं,’ विवरणमा भनिएको छ, ‘उक्त समयमा अञ्जु पन्त र जगदीश समालले गाउनु भएको यो गजलको लिंक समेत समावेश गरेका छौं।’
गीतको विवरणमा आफूलाई पनि समावेश गरेपछि अञ्जुले खुसी व्यक्त गरेकी छिन्। उनले सामाजिक सञ्जालमा लेख्छिन्, ‘न बिर्सेँ तिमीलाई गजलका गजलकार विपिन किरण लगायत टिमलाई धेरै धन्यवाद। मानिसबाट कहिलेकाहीँ जानअन्जानमा भूल हुन्छ। यस्तै भूलबाट नै सुधार गर्दै र सिक्दै जाने हो, हामी सबैले।’
उनले गजलकार विपिन किरणसँगको कुराकानीपछि रचनाले गाएको गीतको विवरणमा गीतलाई यसअघि गाएका गायकहरुको पनि नाम समावेश गर्ने निर्णय भएको पनि उल्लेख गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।