काठमाडौं– बलिउडकी ‘कन्ट्रोभर्सी क्वीन’ कंगना रणावत अहिले रियालिटी शो ‘लकअप’को काममा व्यस्त छिन्। उक्त कार्यक्रममार्फत उनी डिजिटल डेभ्यु पनि गर्दै छिन्। कार्यक्रममा प्रस्तोताको रुपमा देखिन लागेकी कंगनाले उक्त भूमिका निभाएकोमा भने ठूलै रकम पाएकी छिन्।
कंगनाको व्यक्तित्वजस्तै ‘लकअप’ कार्यक्रमको कन्सेप्ट पनि निकै कन्ट्रोभर्सियल छ। जसकारण कार्यक्रमका निर्माताले उनलाई मोटो रकम पारिश्रमिकको रुपमा दिएको हुनसक्ने भारतीय सञ्चारमाध्यमको टिकाटिप्पणी छ। उनीहरुका अनुसार कंगनाले उक्त कार्यक्रममा प्रस्तोताको रुपमा काम गरेवापत २५ करोड भारतीय रुपैयाँ लिने सम्झौता भएको छ। जसअनुसार एउटा एपिसोडमा प्रस्तोता बन्दा कंगनाले एक करोड भारतीय रुपैयाँभन्दा धेरै पारिश्रमिक पाउनेछिन्।
केही समयअघि ‘लकअप’को निर्माण पक्षले कार्यक्रमको कन्सेप्टसँग मिल्ने अवतार भएकाले कंगनालाई छानिएको सार्वजनिक गरेको छ। ७२ दिनसम्म २४ घण्टा नै लाइभ स्ट्रिम हुने यो कार्यक्रममा कंगना भने शनिबार र आइतबार मात्रै देखा पर्नेछिन्। जसअनुसार २२ एपिसोडमा देखिने उनले २५ करोड रुपैयाँ पारिश्रमिकको रुपमा पाउनेछिन्।
भारतको मुम्बईस्थित गोरे गाउँमा स्टुडियो बनाएर छायांकन गरिने कार्यक्रम २७ फेब्रुअरीबाट प्रसारण हुनेछ। कार्यक्रमको छायांकन ठीक एक दिनअघि २६ फेब्रुअरीबाट सुरु हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।