काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठकमा कार्यसम्पादन समितिको बैठक, जिल्ला अधिवेशन र भातृ संस्थालाई पूर्णता दिनेबारे छलफल भएको छ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा भोलि हुने कार्यसम्पादन समितिको बैठकको अजेण्डाबारे आज केही छलफल भएको छ।
यसैगरी, अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन र भातृ संस्थालाई पूर्णता दिने विषयमा पनि नेताहरूले आ–आफ्ना धारणा राखेको प्रवक्ता महतले बताए।
'कार्यसम्पादन समितिमा सबैले आफ्ना धारणा राख्नुहुन्छ। निर्वाचनमा पार्टी कसरी जाने बारेमा भोलिको बैठकमा छलफल हुन्छ', प्रवक्ता महतले भने, 'रोकिएका जिल्ला अधिवेशन र भातृ संस्थालाई पूर्णता दिने विषयमा पनि भोलिको बैठकमा थप छलफल गरेर निर्णय गर्छौं।'
आजको बैठकमा उठेका विषयलाई सम्बोधन गर्नेगरी कार्य सम्पादन समितिले निर्णय लिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।