काठमाडौं- सरकारले वैशाख ३० गते तोकेको स्थानीय तहको निर्वाचन मधेश प्रदेशमा असोजपछि गर्न माग गरिएको छ। लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले विज्ञप्ति जारी गर्दै उक्त प्रदेशका स्थानीय तहलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिन आग्रह गरेका छन्।
स्थानीय तहका पदाधिकारीको विनाकारण एक दिन पनि अधिकारबाट वञ्चित गर्नु संविधानको मर्म र भावना विपरीत हुने उनले उल्लेख गरेका छन्। मधेश प्रदेशमा२०७४ असोज स्थानीय तहको निर्वाचन भएकाले सोही मितिलाई दृष्टिगत गरी नयाँ निर्वाचन मिति तोक्न माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, 'निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधी संविधान को धारा २१५ - ६,२१६-६ र २२० -५ अनुसार हुने भएकोमा कुनै निर्वाचित पदाधिकारीको विनाकारण एकदिन पनि अधिकारबाट वञ्चित गर्न संविधानको मर्म र भावना विपरीत हुने हुँदा यस सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, सम्बन्धित पक्ष एंव अन्य सरोकारवाला समेतको ध्यान आकृष्ट गर्न चाहन्छौं।'
लोसपाका तर्फबाट महोत्तरीको भंगाहा नगरपालिका मेयर संजीव कुमार साहले सरकारको वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन्। जुन दर्ता हुन बाँकी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।