काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न कम्युनिस्ट पार्टीहरूले संघीय संसद् घेराउ गर्ने भएका छन्।
एमसिसीविरुद्ध मंगलबार देशभर कोणसभा गरेका नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले बुधबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवन घेराउको कार्यक्रम तय गरेका छन्।
बुधबार १ बजे माइतीघर मण्डलामा केन्द्रित भएर विरोध प्रदर्शनसहितको र्याली संसद् भवन नयाँ बानेश्वर घेराउ गर्न जाने बताइएको छ । यसअघि काठमाडौंमा आइतबार बसेको ६ दल र दुई मोर्चाको बैठकले २५ गते देशभर संयुक्त कोणसभा गर्ने, २६ गते काठमाडौंमा संसद् भवन घेराउ गर्ने र सोही दिन देशैभर जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको थियो।
बैठकपछि संयुक्त वक्तव्य जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुति, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।