काठमाडौं– भोलि (माघ २६ गते) बस्ने तय भएको प्रतिनिधि सभाको बैठक ६ दिनका लागि सरेको छ। प्रतिनिधि सभाको बैठक फागुन २ गते सम्मका लागि स्थगित गरिएको हो।
सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय स्रोतले सरकारको आग्रहमा भोलि बस्ने तय भएको प्रतिनिधि सभाको बैठक ६ दिनका लागि स्थगित गरिएको जानकारी दियो।
संघीय संसद् सचिवालयले भोलि बस्ने बैठकका लागि सम्भावित कार्यसूची समेत सार्वजनिक गरिसकेको थियो। सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अटेको थिएन।
सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसदीय प्रक्रिया (प्रतिनिधि सभा बैठकमा टेबल गर्ने प्रक्रिया) अगाडि बढाउन खोजेको चर्चा चलेको बेला बैठक फेरि स्थगित भएको हो।
यसअघि पनि प्रतिनिधि सभा बैठक १० दिन सारेर २६ गतेका लागि तय भएको थियो।
*संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले भने विशेष कारणले २६ गते बैठक बस्न नसक्ने भएकाले सभामुखले फागुन २ गतेका लागि प्रतिनिधि सभाको बैठक निर्धारण गरेको जानकारी दिएका छन्।
प्रतिनिधि सभाको बैठक स्थगित भएकोबारे सूचना गर्दै महासचिव गौतमले फागुन २ गते (सोमबार) दिनको १ बजे बैठक बस्ने गरी निर्धारण भएको उल्लेख गरेका छन्।

*अपडेट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।