काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी परित्यागको घोषणा गरेका पूर्वअध्यक्ष कमल थापालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा संघीय राजधानी काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको बैठकले पार्टीबाट अलग हुने थापाको निणर्यमा पुनर्विचार गर्न राप्रपा अनुरोध गरेको हो।
थापाले मंगलबार पार्टी परित्यागको घोषणा गरेपछि अध्यक्ष लिङ्देनले पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका थिए। बैठकले थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा पार्टीबाट अलग हुने घोषणा भएको समेत ठहर गरेको छ।
'...राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं। पार्टीबाट अलग हुने उहाँको निणर्यमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ,' बैठकपछि मोहन श्रेष्ठले जारी गरेको वक्तव्यमा भनिएको छ।
वक्तव्यमा हालै सम्पन्न महाधिवेशनले तय गरेको 'राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना' लगायतका 'सैद्धान्तिक अवधारणा र कार्यदिशा' मा पार्टी अविचलित रहेको पनि उल्लेख गरिएको छ।
थापाले पार्टी परित्याग गरेको घटनाबाट दुविधामा नपर्न र विचलित नहुन पनि राप्रपाले सबै तहका नेता/कार्यकर्तालाई आग्रह गरेको छ।
'..यस घटनाबाट सवै तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई दुविधामा नपर्न र विचलित नहुन राप्रपा आग्रह गर्दछ। साथै आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टीका सबै तहका साथीहरूलाई हार्दिक आह्वान गर्दछ,' वक्तव्यमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।