फाइल तस्बिर
काठमाडौं- प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ। बुधबारको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ। सम्भावित कार्यसूचीमा चर्चामा रहेको एमसीसी परेको छैन।
संसद् सचिवालयले भोलिको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको हो। आगामी बैठकमा एमसीसी टेबल गरिने चर्चा चलेको भए पनि सम्भावित कार्यसूचीमा भने अनुमोदनका लागि टेबल गर्ने प्रस्ताव छैन। कार्य व्यवस्थाको बैठकपछि उक्त विषय कार्यसूचिमा समावेश गर्ने वा नगर्ने निर्णय हुने संसद सचिवालयले जनाएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले बुधबारको संसद बैठक सञ्चालनका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन्। बुधबार बिहान ११ बजेका लागि सभामुख सापकोटाले बैठक बोलाएका छन्।
यसअघि माघ १६ गते बस्ने भनि बोलाइएको बैठक अन्तिम समयमा आएर सूचना टाँस गरेर स्थगित गरिएको थियो।
सत्तारूढ नेकपा माओवादी केन्द्रले संसद बैठक केही दिन सार्न प्रयास गरिरहेका बेला सभामुख सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा संसद बैठक राखेर एमसीसी टेवुल गर्ने तयारीमा रहेका छन्। त्यसअघि कार्यव्यवस्थामा छलफल होस् भनि सभामुखले बैठक बोलाएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।