काठमाडौं– नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाअभियोग लगाउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिति सिर्जना हुनसक्ने बताएका हुन्।
उनले नेकपा एमालेका १०० जना सांसद महाअभियोग लगाउने कुरामा तयार रहेको भन्दै पार्टीले संख्या पुर्याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने टिप्पणी गरे।
उनले बुद्धिजीवीहरुले पनि महाअभियोग लगाएर 'सेफ ल्याण्डिङ' गराउने कुरा राखेको बताए। एमालेले कारबाही गरेका १४ जना सांसदलाई बर्खास्त नगरेसम्म संसद्मा बिरोध जारी रहने बस्नेतले बताए।
सांसद बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र राज्य शक्तिको दुरुपयोग भएको टिप्पणी गरे।
उनले प्रधानमन्त्री देशको शक्तिशाली व्यक्ति भएर पत्र लेख्ने कुरा स्वाभाविक भएको तर, अमुक पार्टीको अध्यक्षले प्रधानमन्त्रीसँगै हस्ताक्षर गरेर पठाउँदा त्यसले राज्य शक्तिको दुरुपयोग भएको बताए।
सांसद बस्नेतले प्रचण्डले एमसीसीका बारेमा दोहोरो चरित्र देखाएको भन्दै यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको कूटनीतिक क्षमतामाथि प्रश्न उठेको उल्लेख गरे। उनले प्रधानमन्त्री देउवाले पनि एउटा पार्टीको अध्यक्षलाई आफू सरहको अधिकार दिएर गल्ती गरेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।