काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छन्।
भुकटीमण्डपभित्र रहेका व्यापारीहरुले स्टल भाडा समेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरुको अनुगमन गरेकी हुन्।
त्यसक्रममा धेरैले भाडा नतिरेको पाइएको उनले बताइन्। मन्त्री रेग्मीले भृकुटीमण्डपभित्र भाडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने चेतावनी दिइन्।
अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन आफूले सो क्षेत्रको अवलोकन गर्नु परेको उनले स्पष्ट पारिन्।
मन्त्री रेग्मीले भनिन्, ‘आफ्नै आँखाले देखेर मात्रै सुधार गर्न सकिन्छ। त्यसकारण यसलाई सुधार गर्न, नियमन गर्न र व्यवस्थित गर्नका लागि जोजो बस्नु भएको छ। उहाँहरुले पनि सहयोग गर्नुपर्यो। अनियमितता गरेर बसेका छन् भने कारबाहीको दायरामा आउनु पर्छ।’
मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा लगाउने काम विचौलियाहरुले गरिरहेको उल्लेख गर्दै अब सोझै समाज कल्याण परिषद्ले भाडा सम्झौता गर्ने व्यवस्था गर्न लागिएको बताइन्।
भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने मन्त्री रेग्मीको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।