काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी विवादमा प्रधानमन्त्री शेरबहादुर देउवा र आफूले एमसीसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका छन्। सञ्चार माध्यममार्फत् एमसीसीलाई लेखेको संयुक्त पत्र बाहिर आएपछि उनले उक्त कुरा स्वीकार गरेका हुन्।
प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितको छलफलमा प्रचण्डले फागुन १६ गतेसम्म पारित गर्न समय माग गरेको स्वीकार गरे।
माओवादी केन्द्रको पार्टीगत निर्णय र पार्टीभित्र पारित गर्न हुँदैन भन्ने आवाज उठिरहेको समयमा यो पत्र सार्वजनिक भएको थियो।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रचण्डले 'आफूले पत्र नलेखेको भनेर नभनेको' भनी स्वीकार गरेको बताए। संवेदनशील मामिलामा सत्ता गठबन्धनको एउटै धारणा हुनुपर्ने कुरा एमालेले राखेको महासचिव पोखरेलले बताए।
२०७६ असारमा प्रतिनिधि सभामा दर्ता भएको उक्त सम्झौता माओवादी केन्द्रकै कारण संसद्मा पेस हुन नसकेको एमालेले आरोप लगाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।