काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताएका छन्।
आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरुलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष लिङ्देनले पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको बताएका हुन्।
निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उनले सो विषयलाई निकट भविष्यमै टुंगोमा पुर्याइने बताए। पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने लिङ्देनको भनाइ छ।
‘अहिले कोहीपनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन। निवर्तमान अध्यक्षजीसँग केही विषयहरु छन्, त्यस विषयमा हामी छलफलमा छौँ, र त्यो विषयमा पनि हामी निकट भविष्यमै टुंगोमा पुर्याउँछौ,' लिङ्देनले भने।
अध्यक्ष लिङ्देनले आइतबार मनोनित गरिएका पदाधिकारीहरुलाई पार्टी कार्यालयमा स्वागत गरेका हुन्। मनोनित २४ जना पदाधिकारीमध्ये केही पदाधिकारी भने उपत्यका बाहिर भएकाले उनीहरुले पछि पत्र बुझ्ने पनि लिङ्देनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।