काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूबीच भेट भएको छ। आइतबार सभामुखको कार्यकक्षमा भएको भेटमा एमसीसीसँगको सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्ने लगायतका विषयमा छलफल भएको छ।
सापकोटा र बडूबीच करिब आधा घण्टा छलफल भएको थियो। छलफलमा बडूले एमसीसी जस्तो विषयमा सदनबाहिरको छलफलबाट नटुंगिने बताएका छन्। 'बाहिरबाहिर छलफल गरेर टुंगिने विषय होइन। प्रतिनिधि सभाको बैठकमा पेस हुने वातावरण बनाउनुस्। म प्रस्ताव ल्याउँछु', मन्त्री बडूले आफूले सभामुखसँग भनेको कुरा उद्धृत गर्दै नेपाल लाइभलाई बताए।
उनले एमसीसीसँगको सम्झौताको सन्दर्भमा जनताका प्रतिनिधिहरुले नै छलफल गर्न पाउनुपर्ने बताएका थिए। त्यसलाई स्वीकार गर्ने वा नगर्ने अधिकार पनि उनीहरुकै भएको मन्त्री बडूको भनाइ थियो।
'औपचारिक रुपमै जनताका प्रतिनिधिले बहस गर्ने वातावरण बनाऔँ। त्यसबाट जनता र जनताका प्रतिनिधिले के चाहन्छन् भन्ने पनि प्रष्ट हुन्छ', बडूको भनाइ थियो, 'सदनमै हुने छलफलले एमसीसीको सहयोग हामीलाई चहिन्छ कि चाहिँदैन भन्ने औपचारिक टुंगो लगाओस्। यसका उठेका अन्य विषय पनि त्यहीँबाट टुंगो लागोस्।'
प्रतिनिधि सभाको अर्को बैठक माघ २६ गतेका लागि बोलाइएको छ। तर त्यसअघि नै कार्यव्यवस्था बोलाउन बडूले आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।