पोखरा– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी)का विषयमा गठबन्धनका नेताहरु पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालमा भ्रम रहेको बताए।
जनतामा रहेको जस्तै भ्रम नेताहरुमा पनि रहेको पौडेलले टिप्पणी गरे। पोखरामा नेपाली कांग्रेसको गण्डकी प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले आफूले गठबन्धनको बैठकमा प्रचण्ड र नेपाललाई एमसीसीका बारेमा स्पष्ट हुने आग्रह गरेको बताए।
‘मैले गठबन्धनको बैठकमा नै भने, एमसीसीका बारेमा आम जनतालाई कन्भिन्स गराउनुभयो। अब मलाई कन्भिन्स गराउनुस्, होइन भने कार्यान्वनमा लैजाउँ। मुलुकको अर्थतन्त्र चल्नै नसक्ने अवस्थामा पुग्यो। ठूलो विकास आयोजना ठप्प छन्। यसले पनि मुलुक असफलतातर्फ धकेलिन्छ,’ पौडेलले सुनाए।
नेता पौडेलले बर्तमान गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने पनि बताए। उनले कांग्रेससँग ३० प्रतिशत मात्र मत भएको बताउँदै कांग्रेसभन्दा बाहिर रहेका ७० प्रतिशत मत एकै ठाँउमा गएमा के हुन्छ? भनेर प्रश्न गरे।
नेता पौडेलले संविधानमा भएको व्यवस्थाअनुसार पनि कुनै पार्टीले एकल बहुमत जुटाउन नसक्ने भएकाले भविश्यमा सरकार बनाउने शक्तिहरुले चुनावमा नै गठबन्धन बनाउन आवश्यक रहेको बताए। उनले भने, ‘संविधानमा भएको समावेशी व्यवस्थाका कारण कुनै पनि पार्टीको बहुमत आउँदैन। त्यसकारण सरकार चलाउनका लागि पनि अरु पार्टीसँग गठबन्धन गर्नै पर्छ। गठबन्धनको संस्कृतिको विकास गर्न आवश्यक छ।’
गठबन्धन गर्न हुँदैन भन्नेहरुलाई प्रश्न गर्दै पौडेलले भने, ‘राष्ट्रिय सभामा ३ जना थिए। अहिले गठबनधन मिल्दा ६ जना सदस्य पाएको उपलब्धि हो कि होइन?’
पौडेलले आगामी चुनावमा पार्टीका तर्फबाट जनतालाई आशा जगाउने सन्देश के दिने भन्ने विषयमा नेताहरुले सोच्नुपर्ने बताए। आफू उत्तर दिने ठाउँमा नभएको उल्लेख गर्दै पौडेलले चुनावमा कांग्रेसले जनतालाई आशा जगाउने सन्देश के दिने र कांग्रेसलाई अन्तर्घातबाट कसरी बचाउने भन्ने बारेमा नेतृत्वले सोच्नुपर्ने बताएका हुन्।
‘कांग्रेसका अगाडि ठूलो चुनौतीको पहाड छ। अबको चुनौतीको पहाड भनेको आगामी चुनाव हो। ती चुनावमा जनतमा कसरी आशा जगाउने भन्नेबारेमा पदाधिकारीहरुले सोच्न जरुरी छ। म अहिले उत्तर दिने ठाँउमा छैन। उत्तर दिने ठाँउमा भएका पार्टीका पदाधिकारी साथीहरुले जनतालाई आशा जगाउने सन्देश के दिने हो र कांग्रेसलाई अन्तर्घातबाट कसरी बचाउने हो सोच्नुहोला,’ पौडेलले भने।
पौडेलले पार्टी भित्रको गुटबन्दीलाई केबल महाधिवेशनमा मन लागेकोलाई जिताउ मन नलगेकोलाई हराउनमा मात्र सीमित राख्नुपर्ने बताए। गुटबन्दीलाई अन्तर्घातमा पुर्याउन नहुने पौडेलको भनाइ छ।
इतिहासमा रछानमा फाँकिएको तत्वहरुले संविधानलाई गिज्याउन थालेका उल्लेख गर्दै पौडेलले कांग्रेस र अहिले सत्तामा रहेका दलहरु संविधान र यो व्यवस्थाको पक्षमा चट्टानजस्तै उभिनुपर्ने तर्क गरे।
‘कांग्रेसकै कतिपय साथीहरु बीपीले राजासँग घाँटी जोडिएको छ भन्नुभएको थियो। अब त त्यसै गर्ने कि भन्नुहुन्छ। त्यो होइन बीपीले राजालाई लोकतन्त्र चाहिँदैनन भने हामीलाई पनि राजा चाहिँदैन भन्नुभएको थियो,’ पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।