काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको प्रमुख एक घटक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएका छन्।
सुरुमा देउवा र ओलीबीच मात्र भेट हुन लागेको भनिए पनि सो भेटमा प्रचण्डसमेत सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘तीन नेताबीच चार बजे छलफल तय भएको छ’, देउवाको सचिवालय स्रोतले भन्यो।
प्रधानमन्त्री देउवाको निम्तोमा एमाले अध्यक्ष ओली आइतबार अपराह्न बालुवाटार जान लागेको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए। ‘प्रधानमन्त्रीज्यूले छलफलका लागि बोलाउनु भएको छ,’ बजगाईंले भने, ‘अध्यक्षज्यू बालुवाटार जाँदै हुनुहुन्छ।’
तीन नेताबीच अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता र आसन्न स्थानीय निर्वाचनबारे छलफल हुन लागेको बताइएको छ।
खासगरी एमसीसीको विषयले सत्ता गठबन्धनका दलहरुबीच विवाद देखापरेका बेला प्रधानमन्त्री देउवाले प्रतिपक्षी नेतालाई समेत बालुवाटार बोलाएर छलफल गर्न लागेका हुन्।
प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार जाँदैछन्। यसअघि प्रधानमन्त्री देउवा नै बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए।
एमसीसी सम्झौता अनुमोदन गर्ने प्रतिबद्धतासहित देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई गत असोजमा पठाएको संयुक्त पत्र सार्वजनिक भएपछि गठबन्धनमा तरंग पैदा भएको छ।
एमसीसी मुख्यालयले गत बिहीबार देउवा र प्रचण्डलाई पत्र पठाएर असोजमा पठाइएको पत्रमा व्यक्त प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ। एमसीसीले आउँदो फागुन १६ भित्र सम्झौता अनुमोदन गर्नुपर्ने ‘डेडलाइनसमेत स्मरण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।