काठमाडौं– ‘स्वर कोकिला’ लता मंगेशकरको निधनमा भारत सरकारले दुई दिन राष्ट्रिय शोकको घोषणा गरेको छ। आइतबार मुम्बईस्थित क्याण्डी अस्पतालमा अन्तिम सास लिएकी लताको सम्मानमा भारत सरकारले दुई दिन राष्ट्रिय शोकको घोषणा गरेको हो।
९२ वर्षिय लतालाई गत जनवरी ८ मा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमणका कारण स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएकी उनको आईसीयूमा उपचार गरिएको थियो।
लामो समयसम्म नाजुक स्वास्थ्य अवस्थामा रहेकी लताको स्वास्थ्यमा केही दिनअघि सुधार भएको बताइएको थियो। तर, शनिबार राति अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा उपचार गरिएको थियो।
तर, उनको ज्यान बच्न सकेन। आइतबार बिहान ८ः १२ मा लताको निधन भएको अस्पतालले जनाएको छ।
लताको सम्मानमा भारतभर दुई दिन राष्ट्रिय शोकको घोषणा भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार लताको अन्तिम संस्कार आइतबार साँझ शिवाकी पार्कमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।