काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न ओली आज बालुवाटार जाने तय भएको छ।
पाँच दलीय गठबन्धन दलहरुबीच एमसीसीको विषयलाई लिएर असन्तुष्टि भइरहेका बेला प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो। यसअघि प्रधानमन्त्री देउवा नै बालकोट पुगेर एमाले अध्यक्षसँग छलफल गरेका थिए।
असार २८ मा सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीबाट बहिर्गमन भएका ओली त्यसपछि पहिलोपटक बालुवाटार प्रधानमन्त्रीसँग छलफल गर्न लागेका हुन्। बालुवाटार स्रोतका अनुसार आज अपराह्न ४ बजे बालुवाटारमा भेटवार्ताको समय तय भएको छ।
स्थानीय तहको निर्वाचन र एमसीसी लगायत पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुन लागेको बताइएको छ। प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच हुन लागेको पछिल्लो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
दुई नेताकाे भेटका बारे ओलीकाे सचिवालयले पुष्टि गरेको छ। ‘प्रधानमन्त्री ज्यूले छलफलका लागि बाेलाउनु भएको छ,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘अध्यक्ष ज्यू बालुवाटार जानुहुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।