काठमाडौं- काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बाराको सिम्रौनगढबाट काठमार्डौँ आउँदै गरेको ना ८ ख ७३२३ नम्बरको र राजबिराजबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ६४९७ नम्बरको बसमा जाँच गर्ने क्रममा यात्री बनेर आएका भारत बिहार राज्य मोतिहारी जिल्ला ग्राम हम्बरीया घर हुने २७ वर्षीय पवनकुमार दास र सप्तरीका मुकेश शाहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।
प्रहरीले दासको झोलाबाट डाइजेपाम, नोफिन र फेनारगन ३०० एम्पुल तथा शाहको झोलाबाट नाइट्राभेट ५९६ थान फेला पारेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनीहरुमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान भइरहेको छ।
घरेलु मदिरा उत्पादन गर्ने सात भट्टी नष्ट
यसैबीच शुक्रबार साँझ जिल्ला काठमाडौँ तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित पाखो बारीमा जस्तापाता/बाँसले बेरेर बनाइएको टहरामा अवैधरूपमा घरेलु मदिरा उत्पादन गरिएको पाइएको छ। यसरी मदिरा उत्पादन गर्ने सातवटा भट्टी नष्ट गरिएको प्रहरीले जनाएको छ।
आन्तरिक राजश्व कार्यालय बालाजुका प्रतिनिधि, तारकेश्वर नगरपालिकाका प्रतिनिधि तथा स्थानीयवासीको रोहबरमा भट्टी नष्ट गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ। उत्पादन गर्ने व्यक्तिको खोजी जारी रहेको जनाइएको छ। प्रहरीले सात हजार लिटर तयारी घरेलु मदिरा र १५ हजार लिटर कच्चापदार्थ नष्ट गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।