काठमाडौं- राहदानी विभागको अनलाइन फर्म कीर्ते गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। बिहीबार दिउँसो १३:०० बजेतिर काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वररस्थित राहदानी विभागको हाता बाहिर अनलाइन फर्मको कीर्ते गरी सेवाग्राहीहरुबाट रकम असुल गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोली पक्राउ गरेको हो।
पक्राउ सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भई हाल काठमाडौं सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, लम्जुङ बेसीसहर गाउँपालिका-११ घर भई हाल टोखा बस्ने ४० वर्षीय नविनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर बताउने ३६ वर्षीय यमबहादुर थापा मगर रहेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुको साथबाट ४० हजार नगद, कम्प्युटर, ल्यापटप र प्रिन्टर एक/एक थान तथा कीर्ते गरिएका कागजपत्र ५० थान बरामद गरिएको छ।
यस सम्बन्धमा मुलुकी अपराध (संहिता)२०७४ को परिच्छेद-२५ अन्तर्गत दफा २७६ को ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको अनुमति लिएर थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।