बैतडी- हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलाएको छ। बिहीबारदेखि अवरुद्ध बनेको राजमार्गअन्तर्गत सतबाँझ– गोठलापानी खडकखण्ड नेपाली सेनाले हिउँ पन्छाएपछि आज मध्याह्नपछि खुलेको हो।
उक्त सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा ६० जना नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो।
राजमार्ग खुलाउन बिहानदेखि सेनाको टोली खटिएको र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि हिउँ पन्छाउन पुगेको थियो। हिउँ पन्छाएपछि उक्त सडकखण्डमा रोकिएका सवारी साधन र यात्रु आ–आफ्नो गन्तव्यतिर लागेका हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानाले बताए।
सतबाँझ– गोठलापानी खडकखण्ड सञ्चालनमा आएको भए पनि यहाँका अन्य राजमार्ग अझै अवरुद्ध रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
यहाँको अनारखोली, खोड्पे क्षेत्रमा परेको हिउँले दशरथचन्द राजमार्ग, सतबाँझ, धरमघर क्षेत्रको हिउँले महाकाली राजमार्ग र श्रीभावर, ढोल्यामोड क्षेत्रको हिउँको जयपृथ्वी राजमार्गको यातायात सेवा अझै ठप्प छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।