काठमाडौं- अफगानिस्तानका महिलाहरु पनि विश्वविद्यालय फर्किन थालेका छन्। देशका ६ वटा प्रान्तहरू लघमान, नाङ्गाहार, कान्दहार, निमरोज, फराह र हेलमन्डका सामुदायिक विश्वविद्यालयले कक्षाहरू पुनः सुरु गरेसँगै उनीहरु फर्किन थालेका हुन्।
करिब ६ महिनादेखि अफगानिस्तानका विश्वविद्यालयहरू बन्द थिए। यद्यपि, तालिवान प्रशासनले विश्वविद्यालयका महिला विद्यार्थीका लागि आधिकारिक रूपमा कुनै योजना घोषणा गरेको छैन। तर, तालिवानले महिलामा शिक्षाको अधिकार हुनेमा कुनै आपत्ति नरहेको बताएको छ।
तर, शिक्षा अधिकारीहरूले महिला विद्यार्थीका लागि अनिवार्य हिजाबसहित लिङ्गका आधारमा फरक कक्षा र इस्लामिक सिद्धान्तमा आधारित पाठ्यक्रम चाहेको बताएका छन्।
‘केटा र केटीसँगै बसेर लिइने सह-शिक्षा इस्लामको सिद्धान्त र राष्ट्रिय मूल्य मान्यतासँग बाझिएको छ,’तालिवानका उच्च शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले गतवर्ष सेप्टेम्बरको एउटा पत्रकार सम्मेलनमा भनेका थिए।
काबुललगायत चिसो क्षेत्रमा रहेका तीन तिहाइ संस्थाले फेब्रुअरी अन्त्यसम्ममा पुरुष र महिला दुवैका लागि आफ्नो ढोका खोल्ने अपेक्षा गरेका छन्।
एक जना विद्यार्थी रदाले उत्सुकताका साथ ६ महिनापछि क्याम्पस फर्कन पाउँदा खुशी लागेको बताइन्।
‘वास्तवमा धेरै कुरा पहिलेकै जस्तै सामान्य महसुस गरें। आज बिहान मैले धेरै नै चिन्तित महसुस गरें। हामी आइपुग्दा तालिबानले क्याम्पस भवनमा पहरा दिइरहेका थिए। तर, उनीहरूले हामीलाई केही अवरोध गरेनन्,’ दक्षिणी सहर कान्दहारको विश्वविद्यालयमा भर्ना भएकी रदाले भनिन्।
गत अगस्टमा सत्तामा आएदेखि तालिवानले देशभित्रको दैनिक जीवनमा विभिन्नखाले कडा नियमहरू लगाएको छ। त्यस्ता नियममध्ये अधिकांश महिलाविरुद्ध छन्।
बालिकालाई माध्यमिक शिक्षा लिन प्रतिबन्ध लगाइएको छ र महिला मामिलासम्बन्धी मन्त्रालय खारेज गरिएको छ।
अधिकांश अवस्थामा महिलालाई काम गर्न दिइएको छैन। महिलालाई हिजाब लगाउन पनि निर्देशन दिइएको छ।
तर, तालिवानले सन् १९९० को दशकमा देशमा शासन गर्दा जस्तै महिलालाई बुर्का अनिवार्य गरेका छैन। तालिवानको पहिलो शासनकालमा सन् १९९६ देखि २००१ सम्म महिलालाई शिक्षाबाट वञ्चित गरिएको थियो।
तालिवानले सत्ता कब्जा गर्नुअघि भर्ना भएका महिलाका लागि केही विश्वविद्यालयहरू खुलेका छन्। तर, उच्च शिक्षा अझै पनि धेरैका लागि अनिश्चित नै देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।