काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कंगोमा करेन्ट लागेर २६ जनाको मृत्यु भएको छ। कंगोको राजधानी किन्शासाको बजारमा हाई-भोल्टेज तार पानी जमेको नालीको खाडलमा खस्दा कम्तिमा २६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका हुन्।
‘तार चुँडियो र बिहानको वर्षापछि पानीले भरिएको खाल्डोमा खस्यो। हालसम्म २६ जनाको मृत्यु भएको छ,’ किन्शासा प्रान्तीय सरकारका प्रवक्ता चार्ल्स म्बुटामुन्टुले एएफपी समाचार एजेन्सीलाई भने।
किन्शासाका प्रहरी प्रमुख सिल्भानो कासोन्गोका अनुसार धेरै जनाको घटनास्थलमै मृत्यु भएको थियो।
‘ज्यान गुमाउनेमा अधिकांश व्यापारी र ग्राहक र केही यात्रुहरू थिए। यसबारे अनुसन्धान थालिएको छ,’ उनले भने।
सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोहरूमा मानिसहरू पानी जमेको खाडलमा लडिरहेको र धेरै शवहरू वरिपरि छरिएका देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।