काठमाडौं- यमनी विद्रोहीसँग लड्न युएईलाई अमेरिकाले सघाउने भएको छ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र युएईका युवराज मोहम्मद बिन जायद अल नाह्यानबीच भएको फोन वार्तापछि अमेरिकाले उक्त निर्णय गरेको हो।
अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुई नेताले हुथी विद्रोहीले हालै युएईका नागरिकहरूलाई लक्षित गरी गरेको आक्रमणका बारेमा छलफल गरेका थिए।
बीबीसीका अनुसार हुथी विद्रोहीसँग लड्न युद्धपोत र लडाकु विमानहरू पठाउने छ। पेन्टागनले हुथी विद्रोहीको आक्रमणका कारण अमेरिका र युएईका सैनिकको सुरक्षामाथि प्रश्न उठेको बताएको छ।
रक्षामन्त्री अस्टिनका अनुसार अमेरिकाले क्षेप्यास्त्र विनाशक युएसएस कोललाई युएई पठाउनेछ, जसले त्यहाँको नौसेनासँग काम गर्नेछ।
रक्षामन्त्री अस्टिनले युएईका युवराजलाई अमेरिकाले पनि लडाकु विमान तैनाथ गरिरहेको जानकारी गराए। गत महिना हुथी विद्रोहीहरूले युएईमा ड्रोन आक्रमण गरेको थियो। जसमा तीन जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।